Recent Tube

LightBlog

Breaking

Thursday, December 6, 2018

थारू समुदायकाे अर्काे एक जल्दाे बल्दाे समस्या, विवाह गर्न सक्षम र पढेलेखेकाे केटा पाउनै गाह्रो

विर्तामोड – पहिला महिलालाई विद्यालय पठाउने नगरिएकोमा पुरुष सरह महिलाले पढ्न नपाउने अवस्था थियो। तर जब देशमा बेरोजगारी समस्या बढ्न थाल्यो तब पुरुष जति पढाई छाडेर विदेशिन थाले।
अनि गाउँ घरमा रहेका महिलाले विद्यालय तथा कलेजको पढाईलाई निरन्तरता दिँदै आए। अहिले गाउँ घरमा पुरुषले भन्दा महिलाले ज्यादा शिक्षा हासिल गर्दैछन्। जस्का कारण विवाह गर्नका लागि शिक्षित महिलाले आफू समानका पुरुष पाउन छाडिसके।
पूर्वी नेपालका आदिवासी समुदायमा यो समस्या अहिले जटिल बन्दै गएको छ। विवाह गर्न आफू समान शिक्षा लिएका युवक नपाएपछि आफू भन्दा धेरै कम शिक्षा लिएका युवकसँग विहे गर्न बाध्य हुनुपरेको पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी समुदायका युवतीहरुले बताएका छन्।
आदिवासी समुदायका अधिकांश युवकहरु अलि समय पढेपछि पढाई छोडेर पैसा कमाउन घर बाहिर जान्छन् तर युवतीहरुले भने पढाईलाई निरन्तरता दिने गरेका छन्।
स्नातक उत्तीर्ण गरेपछि विवाह गर्नका लागि आफूहरुलाई समान शिक्षा लिएका केटा पाउनै गाह्रो हुन थालेको आदिवासी युवतीहरुको भनार्इ छ।
झापाको शिवसताक्षी नगरपालिकास्थित चन्द्रडाँगीकी इन्दिरा राजवंशीले स्नातक तह उत्तीर्ण गरेपछि उनको विवाह उनी भन्दा धेरै कम पढेका विर्तामोडका एकजना राजवंशी युवकसँग भयो।
इन्दिराका अनुसार विवाह गर्नका लागि उनले उनी बराबर शिक्षा लिएका युवक नै पाइनन्। उनी भन्छिन्, ‘आफू समानको मान्छे नहुँदा निर्णय लिन पनि गाह्रो हुने रहेछ। आफू केही गर्छु भन्दा पनि नबुझिदिने समस्या पनि आउँदो रहेछ।’
पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी समुदायमा अहिले युवक भन्दा युवती धेरै पढ्ने गरेका कारण उनीहरुकै समुदायमा विहेबारी गर्नका लागि समान शिक्षा लिएका युवक भेटन निकै गाह्रो हुन थालेको सोही समुदायका अगुवाहरु बताउँछन्।

विर्तामोडकै एउटा कलेजमा स्नातक तह अन्तिम वर्षमा पढिरहेकी मीरा राजवंशीका लागि धेरै राजवंशी केटा माग्न त आए तर उनी बराबर पढेका कोही पनि आएनन्। मीराले भनिन्, ‘अहिलेसम्म जति केटा आए मलाई माग्न मेरो बराबर पढेका छैनन्। त्यसैले मैले केही निर्णय गर्न सकेको छैन।’
यो समस्या आउनमा पढेलेखेका आदिवासी समुदायका युवकले अन्तरजातीय विवाह गर्नु पनि एउटा कारण रहेको आदिवासी समुदायका अगुवाहरुको भनार्इ छ।
त्यस्का अतिरिक्त परिवारको लालन पालनको जिम्मेवारी युवकले पाएपछि पैसा कमाउनका लागि पढाइ छोड्नुपर्ने बाध्यता अर्को कारण रहेको राजवंशी समुदायका अगुवा तुलाराम राजवंशी बताउँछन्।
समाजशास्त्रीहरु भन्छन् आदिवासी समुदायमा स्कूल जाने केटी भन्दा केटाहरुले चाँडो पढाई छाड्ने गरेका छन्। तर महिला सशक्तिकरणका लागि आदिवासी समुदायका महिलाका लागि यो एउटा अवसर पनि ठान्छन् मेची बहुमुखी क्याम्पस भद्रपुरका समाजशास्त्र विषयका विभाग प्रमुख सुशील खनाल । उनका अनुसार महिला सशक्तिकरणका लागि यो एउटा अवसर भए पनि समाजमा यस्ले निकै ठूलो समस्या उत्पन्न गराएको छ।
उनले भने, ‘यो असन्तुलित शिक्षाका कारण नेपालमा केही वर्षपछि केटीहरुले सक्षम केटा नपाउने संभावना छ। यस्मा कसैले ध्यान दिएकै छैन।’
स्राेत : देश सञ्चार

No comments:

Post a Comment